कांग्रेस महाधिवेशनमा मतदानको समय थपेकाे थपै, भद्रगोल व्यवस्थापन

कांग्रेस महाधिवेशनमा मतदानको समय थपेकाे थपै, भद्रगोल व्यवस्थापन


काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि जारी मतदानको समय दोस्रोपटक थप गरिएको छ । मतदानको व्यवस्थापन भद्रगोल भएपछि समय थप गरिएको हो । केन्द्रीय निर्वाचन समितिले यसअघि राति ९ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेकोमा मतदान नसकिएपछि राति साढे १० बजेसम्मका लागि समय थप गरिएको हो । यसअघि मतदानको अन्तिम समय ५ बजे रहेकोमा ९ बजे पु¥याइएको थियो ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सोमबार राति साढे १० बजेसम्म मतदान गर्ने समय थप गरिएको विज्ञप्ति मार्फत जनाएका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान भइरहेको छ ।
बिहान ८ बजेबाट मतदान हुने भनिएको भए पनि मतपत्र छपाइमा ढिला भएका कारण करिब साढे ११ बजेबाटमात्रै मतदान सुरू भएको थियो ।
कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । यो महाधिवेशनले १३ पदाधिकारीसहित १३४ पदमा नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् ।