अष्ट्रेलिया नेपाल सिधा उडानको लागि दूतावासले नेपाल एयरलाईन्स तोक्यो !

अष्ट्रेलिया नेपाल सिधा उडानको लागि दूतावासले नेपाल एयरलाईन्स तोक्यो !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडानका लागि नेपाली दूतावास क्यानबेराले नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सको नाम पठाएको छ । दुई देशबीच भएको हवाई समझदारी बमोजिम दुबै देशका कुनैपनि एयरलाईन्सले उडान गर्न सक्नेछन् तर यसको लागि विमान कम्पनीले छुट्टै सम्झौता गर्नुपर्ने हुन्छ । यसैका लागि सरकारको तर्फबाट नेपाली दूतावासले नेपाल एयरलाईन्सको नाम दिएको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि नेपाल एयरलाईन्सको नाम पठाइएको जानकारी दिनुभएको छ । राजदूत पोखरेलले हवाई उडान गर्नका लागि एक कदम अघि बढेको र अब प्रक्रियामा नेपाल एयरलाईन्स जानुपर्ने जानकारी दिनुभयो ।

केविसीखबरसँग कुरा गर्दै राजदूत पोखरेलले बहुप्रतिक्षित विषय अब टुंगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र अष्ट्रेलिया बीचमा सन् २०१९ अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । यसपछि कोरोनाको महामारी फैलिएको समयमा नेपाल एयरलाईन्सले सिड्नी र मेलबर्नबाट एक एक उडान गरिसकेको छ । नेपालसँग सानो विमान भएका कारण यस्तो उडानमा मलेसियालाई ट्रन्जीट बनाइएको थियो । नेपाल एयरलाईन्सले सिड्नीमा गरेको उडान नै पहिलो सिधा हवाई सेवा थियो । आउँदा काठमाडोंबाट उडेको विमान सिधै सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जाँदा भने नेपाल जाने यात्रु अलपत्र परेका कारण उनीहरुलाई लिएर मलेसिया ट्रान्जीट बनाउँदै विमान काठमाडौं पुगेको थियो । मलेसियामा विमानको ईन्धन भरिएको थियो यात्रु भने निस्कन परेको थिएन । अष्ट्रेलियन सरकारले आफ्ना नागरिकहरु ल्याउनका लागि पनि नेपाल एयरलाईन्सको चार्टड बुक गरेको थियो ।

दूतावासले नेपाल एयरलाईन्सलाई सिधा हवाई उडानका निम्ति तोकेपछि अष्ट्रेलियाको नेपाली समूदायले खुशी व्यक्त गरेको छ । अष्ट्रेलियामा हाल डेढ लाखभन्दा बढी नेपाली बसोबास गर्दछन् । यीमध्ये अधिकांश विद्यार्थी छन् । अष्ट्रेलियामा अध्ययन गर्न आउनेमध्ये नेपाल संख्याका हिसाबले तेश्रो नम्बरमा पर्दछ । तर, अष्ट्रेलियाका कुनैपनि विमान कम्पनीले उडानका लागि पहल नगर्दा यात्रुले सास्ती पाउँदै आएका छन् । कोरोना कालमा चीनको ट्रन्जीट बन्द भएपछि महँगो मूल्यमा नेपालीले टिकट काट्नुपर्ने बाध्यता छ । अझ ट्रान्जीट पर्ने देशहरुबाट नेपालसम्म साना विमान मात्रै नेपाल उड्दा थप व्ययभार नेपाली विद्यार्थीहरुलाई पर्ने गरेको छ ।