अष्ट्रेलिया विद्यार्थी र अन्तर्राष्ट्रिय यात्रीका लागि बुधबारबाट खुल्ला हुने

अष्ट्रेलिया विद्यार्थी र अन्तर्राष्ट्रिय यात्रीका लागि बुधबारबाट खुल्ला हुने


मेलबर्न, अष्ट्रेलिया ।

सोमबार अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले विदेशी विद्यार्थी र दक्ष कामदारहरुको लागि बुधबारबाट आगमन खुल्ला गर्ने जानकारी दिएका छन् । कोभिड १९ को ओमिक्रोनको त्रासका कारण डिसेम्बर १ देखि खुल्ला गर्ने पूर्वयोजनालाई दुई साताका लागि पछि सारिएको थियो ।

यद्यपि मन्त्रिपरिषद्को बैठक निर्णयले डिसेम्बर १५ पछि पनि अष्ट्रेलियाको सिमाना खुल्ला हुने कि नहुने भन्ने विषयमा अन्योल सिर्जना गरेको थियो । यसलाई चिर्दै स्वास्थ्यमन्त्रीले सोमबार अष्ट्रेलियाको सिमाना अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कामदारहरुको लागि बुधबारबाट खुल्ला गर्ने जनाएका हुन् ।


उनलाई उद्धृत गर्दै डेलीमेलले जनाए अनुसार स्वास्थ्यमन्त्रीले सप्ताहन्तमा यस विषयमा पुनः छलफल गरिएको र बुधबारबाट सिमाना खुल्ला हुने जनाएको लेखेको छ । साथै, अष्ट्रेलियन स्वास्थ्य अधिकारीहरु कोरोनाको नयाँ प्रकारबाट खासै चिन्तित नभएको बताएका छन् ।

उनले कोभिड १९ विरुद्धको खोप लगाइसकेकाहरुलाई यसको असर त्यति धेरै नपरेको यद्यपि अझै पनि अनुसन्धान जारी राखिएको बताएका छन् ।