Logo

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोली चुनाव, उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घन्टा बढाएर १ बजेसम्म तोकेको थियो ।
शनिबार राति सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रारम्भिक नामावालीमा केन्द्रीय कार्यसमितिका १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । एक जना सभापतिका लागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो । खुला र विभिन्न क्लस्टरबाट १ सय २१ सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा सबैभन्दा बढी खुलातर्फ ३५ सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको थियो । नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।