एमाले अध्यक्ष ओलीको कडा चुनौती, एमालेसँग धाक नलगाउन चेतावनी

एमाले अध्यक्ष ओलीको कडा चुनौती, एमालेसँग धाक नलगाउन चेतावनी


काठमाडौं, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले एमालेसँग धाक नलगाउन चुनौती दिनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आगामी चुनावमा एमालेसँग लड्नका लागि एकजुट भएर आउन पाँच दलीय गठबन्धनलाई चुनौती समेत दिनुभएको छ । उहाँले पार्टीलाई एकजुट बनाएर जान कार्यकर्तालाई निर्देशन दिँदै सत्तारुढ गठबन्धनलाई एकजुट भएर आउन चुनौती दिनुभएको हो ।

’एमालेसँग लड्नेहरुले कमसेकम आफू त एकताबद्ध भएर आउ न । यो पाँचवटाको पञ्चे गुट छ नि ! मजबुद एमालेसँग लड्न यत्तिकै लिरिखिरी पाराले मन्त्रीमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने गफ दिने,’ उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को विस्तार गर्न नसक्ने एमालेसँग लड्ने धाक लाउने ? एकता देखियो त्यहाँ एकता ।’ भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने ओलीले बताउनुभयो । उहाँले प्रधानमन्त्रीले शपथ लिएकै दिन पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभयो । प्रधानमन्त्रीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको ओलीको भनाइ थियो । उहाँले १४ महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाए धन्यवाद दिनुपर्ने भन्दै व्यंग्य गर्नुभयो ।