नेपाली कांग्रेसको महाधिवेशनको सम्पूर्ण तयारी पूरा, ४४ सय प्रतिनिधि काठमाडौंमा

नेपाली कांग्रेसको महाधिवेशनको सम्पूर्ण तयारी पूरा, ४४ सय प्रतिनिधि काठमाडौंमा


काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार महाधिवेशनको उद्घाटन हुने छ । सभापति शेरबहादुर देउवाले शुक्रबार १ बजे महाधिवेशन उद्घाटन गर्नुहुने छ ।
महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट करिब ४ हजार ४ सय महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन् । ‘देशभरिका करिब ४४ सय प्रतिनिधिहरू काठमाडौं आइपुग्नुभएको छ । देशैभरिका नेता कार्यकर्ताको उपस्थिति छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो ।
महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न चाहने नेताहरूले आफ्नो उम्मेदवारीबारे प्रचार प्रसार र भोट माग्नेक्रम पनि सुरू भइसकेको छ । कोरोना महामारी फैलिने खतरा कायम रहेकाले महाधिवेशन स्थलमा आउँदा स्वास्थ्य सुरक्षा अपनाउन कांग्रेसले आग्रह गरेको छ ।
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।