माओवादीले प्रदेश पदाधिकारीको संख्या थप्ने

माओवादीले प्रदेश पदाधिकारीको संख्या थप्ने


काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारीको संख्या थप गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारीमा दुई सदस्य थप गरी नौ जना राख्ने निर्णय गरेको हो । यसअघि माओवादीको पदाधिकारीमा ७ सदस्य रहँदै आएका थिए ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव एक जना, सहसचिव तीन जना र एक जना कोषाध्यक्ष रहने जानकारी दिनुभयो । यसैगरी बैठकले प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १ सय ७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने निर्णय भएको हो ।
अब प्रदेश १ मा २५९, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय प्रदेश समिति बन्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो । यसैगरी, यही मङ्सिर २५ गते माओवादी केन्द्रले प्रदेश सम्मेलन आयोजना गरेको छ ।