शेखर र प्रकाशमानको अड्डीसँगै रामचन्द्रले दिए कडा चेतावनी

शेखर र प्रकाशमानको अड्डीसँगै रामचन्द्रले दिए कडा चेतावनी


काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनका लागि साझा उम्मेदवार गर्न सकेको छैन । सभापतिका आकांक्षीहरुबीच सहमति जुट्न नसकेपछि आज बसेको बैठक निष्कर्षविहीन भएको हो । चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरू साझा उम्मेदवार तयार गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले सहमति जुटाउन नसकेको हो । नेताहरू बिहीबार बिहान ८ बजे पुनः छलफलमा बस्ने गरी उठेका छन् ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार सभापतिका आकांक्षी नेता प्रकाशमान सिंहले आफैँ सभापतिको उम्मेदवार हुनुपर्ने दाबी छाडेका छैनन् । पौडेल र कोइरालाहरूले भने छलफल गरेर अघि बढ्न सकिने भनेका छन् । नेता सिंहले आफ्नो दाबी नछाडेपछि बैठकमा तनावको अवस्थासमेत बनेको थियो । नेता घिमिरेले आकांक्षीहरू बाहेकका केन्द्रीय सदस्यहरू विहीबार विहान छलफलमा बस्ने, त्यो छलफलको निर्णयअनुसार नेताहरूलाई सुझाव दिने, र नेताहरूले निर्णय लिने सहमति भएको बताए ।
‘भोलि बिहान ८ बजे हामी छलफल गर्छौ, त्यहाँ सभापतिका आकांक्षीबाहेकका केन्द्रीय सदस्यहरू हुनुहुनेछ, हामीले एउटा उम्मेदवार बन्ने विषयमा निर्णय गरेर सुझाव दिन्छौँ,’ उनले भने, ‘हामीले आकांक्षीहरूसहित बस्दा खुलस्त छलफल गर्न सकेनौँ । भोलि त्यस्तै छलफल हुन्छ । र एउटा उम्मेदवार छान्ने विषयमा टुंगोमा पुग्छौँ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले मंगलबारै आफूहरू लचिलो हुन तयार रहेको बताएका थिए । तर, नेता सिंह र अर्का आकांक्षी शेखर कोइरालाका बीचमा सहमति हुन सकेको छैन ।
यसैबीच कांग्रेस नेता रामशरण महतले सबै आकांक्षीले आफ्नो दाबीबाट पछि नहट्दा साझा उम्मेदवार छान्न सकस भएको बताएका छन् । चाक्सीबारीमा बसेको बैठकबाट बाहिरिने क्रममा नेता महतले सबैले लड्छु मात्रै भन्दा समस्या भएको बताएका हुन् । ‘कुरा मिलेको छैन, चारजना आकांक्षी हुनुहुन्छ । सबैलाई सभापति चाहिएको छ । सबै म पनि लड्ने, म पनि लड्ने भन्छन्, छोड्दिनँ भन्छन्,’ महतले सञ्चारकर्मीसँग भने, ‘रामचन्द्रजीले तपाईंहरू मिल्नुस्, नभए मलाई सहयोग गर्नुस् भन्नुभएको छ । तर, प्रकाशमानजी पनि लड्ने, शेखरजी पनि लड्ने भन्या छ । सहमति भएको छैन ।’ वरिष्ठ नेता पौडेलले त साझा उम्मेदवार छान्न नसके आफू पार्टीबाटै अलग भएर घरमै बस्ने बताएको उनले सुनाए । ‘रामचन्द्रजीले सबै लड्ने हो भने म छोड्दिन्छु । म घरमै बस्छु, पार्टीबाट अलग हुन्छु । जे सुकै होस् भन्नुभयो । मिलेरै जानुपर्छ भन्ने उहाँको भनाइ छ,’ महतले सुनाए ।