होबार्ट, अष्ट्रेलिया ।
तास्मनियन नेप्लिज क्रिकेट एसोसिएसन (टिएनसिए)ले दोस्रो संस्करणको टी–२० च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । ग्रेस इन्टरनेशनलको मुख्य प्रयोजनमा टिएनसिएले मार्च १८ तारिखदेखि टी–२० च्याम्पियनसिप २०२३ गर्ने भएको हो ।
उक्त प्रतियोगितामा काठमाडौँ वारियर्स, गोर्खा लेजेन्ड, क्यापिटल क्रिकेट क्लब, मुनलाइट राइनोज क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, यती क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने छन् । अफिसियल इन्पाएरमा क्रिकेट तास्मनियाबाट क्रिस रुसेल र देव पौडेल रहेका छन् ।
६ टिमको सहभागिता रहेको प्रतियोगिताको पहिलो हुनेले नगद २२ सय २२ अष्ट्रेलियन डलर, दोस्रो स्थान प्रप्ता गर्नेले ११ सय ११ अष्ट्रेलियन डलरका साथै मेडल प्रमाणपत्र पाउने होबार्टमा बुधवार गरिएको पत्रकार सम्मेलनमा टिएनसिएका अध्यक्ष बाबु न्यौपानेले जानकारी दिए । उनले प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार को व्यवस्था गरिएको बताए ।
उनले टिएनसिएले गत वर्ष झै यो वर्ष पनि टी–२० च्याम्पियनसिपलाई निरन्तरता दिँदै प्रयोजन गर्ने प्रयोजक, स्थानीय संघ संस्था, पत्रकार, खेलाडीलगायत सम्पूर्ण तास्मानियावासी नेपालीलाई धन्यवाद दिएका छन् । उनले यही महिनाको (मार्च १८ तारिख) शनिवारका दिन टी–२० च्याम्पियनसिपको उद्घाटन खेलामा सहभागी हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपाली वासीलगायतलाई आग्रह गरेका छन् । उनले खेलकुदको माध्यमाबाट नेपाली समुदायलाई एकीकृत गर्न पाउँदा एकदमै खुसी भएको भन्दै आगामी दिनहरूमा तास्मानिया राज्य सरकार र क्रिकेट तास्मानियासँग सहकार्य गरेर अघि बढ्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै टिएनसिएका सचिव कमल भण्डारीले गत वर्षको प्रतियोगिता भव्यरुपमा सम्पन्न भएकाले यस वर्षको टी–२० च्याम्पियनसिप २०२३ पनि सफलता पूर्वक सम्पन्न हुनेमा आफू निकै आशावादी रहेको बताए ।
मुख्य आयोजक ग्रेस इन्टरनेशनलको तर्फबाट बोल्दै अर्जुन प्रसाद अधिकारीले टिएनसिएले आयोजना गरेको यस टि २० प्रतियोगिताको मुख्य प्रयोजक बन्न पाउँदा खुसी लागेको बताए । उनले विदेशी भूमिमा पनि नेपाली समुदायको खेल क्षेत्रको विकासका लागि संस्थाले सधैँ सहयोग गर्ने बताए । उनले यो प्रतियोगिता प्रतिस्पर्धीको भन्दा पनि भाइचाराको भावना विकास गर्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागिता जनाएर नेपाली समाजलाई जोड्न हरदम प्रयास गरिने बताए ।
टिएनसिए तास्मानियामा रहेका क्रिकेट प्रेमी नेपालीहरूको संस्था हो । यहाँ बसोबास गर्ने नेपालीहरूको क्षमता विकास गर्ने उद्देश्यले टिएनसिएको २०१९मा स्थापना गरिएको थियो । स्थापनाकालमा केही क्लबलाई अगाडी लिएर बढेको संस्था अहिले ७ ओटा क्रिकेट क्लबको छाता संगठन भएको छ । टिएनसिएले तास्मानियामा हुने विभिन्न सामाजिक कार्यहरूमा पनि सहभागिता जनाउँदै आएको छ ।
प्रतिक्रिया