६ हजार डलरसहित बाह्रौं कँडेल कन्सल्टेन्सी कप उपाधि सिड्नीको बेनी फुटबल क्लबलाई

६ हजार डलरसहित बाह्रौं कँडेल कन्सल्टेन्सी कप उपाधि सिड्नीको बेनी फुटबल क्लबलाई


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा यति फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको बाह्रौं संस्करणको उपाधि सिड्नीको बेनी फुटबल क्लबले जितेको छ । उपाधिसँगै क्लबले ६ हजार डलर पनि हात पारेको छ । प्रतियोगितामा कूल १५ हजार डलर नगद राशी पुरस्कार स्वरुप राखिएको थियो । फाईनलमा फेवा फुटबल क्लब सिड्नीलाई टाईब्रेकरमा तीनका विरुद्ध चार गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो

कँडेल कन्सल्टेन्सी कप २०२३ को तेश्रो स्थानका लागि भएको भिडन्तमा सिड्नीको सेन्टजर्ज फुटबल क्लबलाई मेलबर्नको युनाईटेड फुटबल क्लबले शून्यका बिरुद्ध ५ गोल अन्तरले पराजित गरेको थियो । जसमा दर्शन गरुंगले दुई गोल, विश्व गुरुंगले एक गोल, सन्तोष तामांगले एक र सजन थापामगरले एक गोल गरे । खेलमा म्यान अफ दि म्याच फेवा फुटबल क्लबका बिमल राना बन्न पुगे । त्यस्तै वेष्ट गोलकिपर बेनी फुटबल क्लबका विवेक अधिकारी, सर्वाधिक गोलकर्ता ४ जना बन्न सफल भए जसमा सबैले समान ६ गोल गरेका थिए । जसमा दर्शन गुरुंग, रमेश बस्नेत, बिमल राना र अभिषेक रिजाल थिए । बेनी फुटबल क्लबका हेमन गुरुंग प्लेयर अफ दि टुर्नामेन्ट बन्न सफल भए भने फेयर प्ले एवार्ड सेन्टजर्ज नेप्लीज क्लब सिड्नीको पोल्टामा पर्यो ।

सन् २००१ मा स्थापना गरिएको यति फुटबल क्लबले आयोजना गर्ने अष्ट्रेलियाव्यापी यो प्रतियोगितामा विभिन्न राज्यबाट २४ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजयीहरुलाई भिक्टोरिया ईमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रयू क्रिस्प, कँडेल कन्सल्टेन्सीका निर्देशक राज कँडेल, भिक्टोरियन मल्टिकल्चरल कमिशनका परशुराम लुईंटेल, ब्लूबेरी रियलस्टेटका महादेव धानुक, एनआरएन भिक्टोरियाका संयोजक हरि खड्का, न्याभका अध्यक्ष प्रेमराज उप्रेति, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, कान्तिपुरका खेल पत्रकार विनोद पाण्डे, नेप्लीज एशोसिएसन स्पोर्टस एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे, समूदायका अगुवा जोग लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन क्लबका अध्यक्ष राज शर्माले गरेका थिए ।

यस्तै ३५ वर्षभन्दा माथिको उमेर समूहको प्रतिस्पर्धामा १० वटा टिमको सहभागिता रहेको थियो । जसमा यति फुटबल क्लब मेलबर्नले उपाधि जितेको छ भने सेन्टजर्ज क्लब सिड्नी दोश्रो हुन पुग्यो । यतिले सेन्टजर्जलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्न सफल भयो । जसमा यतिका श्रवण श्रेष्ठ र विशाल गुरुंगले गोल गरेका थिए । फाईनल खेलको म्यान अफ दि म्याच निराजन गुरुंग भएभने प्रतियोगितामा सर्वाधिक गोलकर्ता देवकुमार र राजेश श्रेष्ठ भएका थिए । दुबैले समान ५ गोल गर्न सफल भएका थिए । यस्तै वेष्ट प्लेयर साजन श्रेष्ठ, फेयर प्ले एवार्ड क्वीन्सल्याण्ड नेप्लीज फुटबल क्लबले प्राप्त गर्न सफल भएको थियो ।

प्रतियोगिताको उपाधिसँगै बेनी फुटबल क्लबले ६ हजार अष्ट्रेलियन डलरको पुरस्कार हात पार्न सफल भयो भने दोश्रो हुने फेवा फुटबल क्लबले तीन हजार डलर र उपाधि आफ्नो बनाउन सफल भयो । यस्तै तेश्रो हुनेले १५ सय र अन्य व्यक्तिगत उपाधि जित्नेहरुले जनही २ सय ५० डलर प्राप्त गरेकाछन् । उता ३५ वर्षमाथिको उमेर समूहको उपाधि विजेता यति फुटबल क्लबले १५ सय डलर, उपविजेता सेन्टजर्ज फुटबल क्लबले एक हजार डलर र व्यक्तिगत उपाधि जित्नेहरुले २ सय ५० डलर प्रतिव्यक्ति जितेका छन् ।

प्रतियोगितामा ५० जना बालबालिकाहरुलाई फुटबल क्लीनिक सञ्चालन गरिएको थियो । जसको संयोजन मेलबर्न भिक्ट्रीका कोचले गरेका थिए भने महिलाहरुको लागि पेनाल्टी सुटआउट स्पर्धा समेत गरिएको थियो । महिला पेनाल्टी सुटआउटतर्फ विजेता बन्दै छिरिंग शेर्पाले १ सय डलर हात पारिन भने क्रसबार च्यालेन्जमा विशाल गौचनले पनि एक सय डलर जिते ।
प्रतियोगितापछि केविसीखबरसँग कुरा गर्दै टुर्नामेन्ट कमिश्नर सजन शर्माले प्रतियोगिता सफल भएको भन्दै खेल भावना अनुसार सबैको साथ र सहयोगका लागि आभार व्यक्त गरेका छन् ।