यू–१९ क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाई

यू–१९ क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाई


काठमाडौं, १९ मंसिर । सु्दूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी प्रदेशले वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कप्तान देव खनाल, विशाल विक्रम केसी र अजय चौहानको उत्कृष्ट प्रदर्शनमा सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनीले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो । सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रन जोडे ।
सुदूरपश्चिमलाई अलआउट गर्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे । त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे। सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले २–२ विकेट लिए ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगिता सात प्रदेशले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए । जसमा लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए ।