काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रताजन्त्र पार्टीको महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित हुनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरूको उपस्थिति भए पनि थापा भने उपस्थित हुनुभएन । राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो हस्तक्षेप गरेको आरोप लगाउनुभएको थियो ।
उहाँले अब छिट्टै राजसंस्था आउनेमा बधाइ भन्दै पूर्वयुवराज्ञी हिमानी शाहलाई व्यंग्यसमेत गर्नुभएको थियो । आइतबार नै थापाले आफू निकट कार्यकर्ताहरूको भेलासमेत बोलाउनुभएको छ । कमल थापा २०६१ सालदेखि लगातार राप्रपाको अध्यक्ष रहनुभएको थियो । थापा पछिल्लो महाधिवेशनमा लिङ्देनबाट २०० मतान्तरले पराजित हुनुभएको हो । गएराति सम्पन्न मतगणनामा लिङदेनले १८१७ मत र थापाले १६१७ मत ल्याउनुभएको थियो ।
प्रतिक्रिया