राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, हारेपछि कमल थापाले लगाए पूर्वराजा ज्ञानेन्द्र शाहलाई आरोप

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, हारेपछि कमल थापाले लगाए पूर्वराजा ज्ञानेन्द्र शाहलाई आरोप


काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई २०० मतअन्तरले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । लिङ्देनले १८१७ र थापाले १६१७ मत ल्याउनुभएको छ । ४ सय ३१ मत बदर भएको थियो ।
यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गर्नुभएको छ । उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै भत्सर्ना गर्नुभएको छ । उहाँले लेख्नुभएको छ– ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
राप्रपाको नयाँ कार्यसमितिको पदाधिकारीमा भने कमल थापा पक्षले बर्चश्व जमाएको छ । राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन् । यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भए ।
खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी हुनुभएको छ । तामाङ र प्रधान थापा पक्षका हुनुहुन्छ । खुला उपाध्यक्ष पदमा सर्वाधिक मत पाएर विजयी विक्रम पाण्डे भने थापा र लिङ्देन दुवै पक्षबाट स्वीकार्य उम्मेदवार हुनुहुन्थ्यो । महिला उपाध्यक्ष कार्की पनि थापा पक्षबाटै चुनाव लड्नुभएको थियो ।
खुला महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी हुनुभएको छ । राणा लिङ्देन पक्षका र पाठक थापा पक्षका हुनुहुन्छ । महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकैहुनुहुन्छ । महिला महामन्त्रीमा लिङ्देन पक्षबाट रेखा थापा उम्मेदवार बन्नुभएको थियो ।
राप्रपा को–को विजयी भए ?
राप्रपाको अध्यक्ष पदमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाउँदा कमल थापाले १ हजार ६ सय १७ मत पाउनुभएको छ ।
खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी हुनुभएको छ । बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाउनुभएको छ । महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी हुनुभएको छ । महिला उपाध्यक्षका अन्य उम्मेदवार लिलादेवी श्रेष्ठले १ हजार ५४ र दुर्गा श्रेष्ठले ४ सय ५ मत पाउनुभयो ।
यसैगरी खुलातर्फ दुई जना महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी हुनुभएको छ । महिला महामन्त्रीमा कुन्ती शाही निर्वाचित हुनुभयो । महामन्त्रीमा निर्वाचित पाठक र शाही थापा पक्षका हुन् भने राणा लिङ्देन समूहका हुनुहुन्छ ।
नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राणा २ हजार २ सय २१ मतसहित विजयी हुनुभएको छ । यसैगरी पाठक १ हजार ७ सय ५ मतसहित विजयी हुनुभएको छ ।
खुला महामन्त्रीमा चुनाव लडेका भाष्कर भद्राले १ हजार ५ सय ६७ र श्याम प्रसाद तिमिल्सिनाले १ हजार ६१ मत पाउनुभएको छ । महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाउनुभयो ।