लेबर पार्टीबाट भद्रा वाईबा अष्ट्रेलियाको स्थानीय चुनावमा विजयी, काउन्सिलर बन्ने पक्का

लेबर पार्टीबाट भद्रा वाईबा अष्ट्रेलियाको स्थानीय चुनावमा विजयी, काउन्सिलर बन्ने पक्का



सिड्नी, अष्ट्रेलिया ।

शनिबार भएको अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य अन्तर्गतको स्थानीय निर्वाचनमा एक नेपालीमूलकी उम्मेद्वारले ईतिहास रचेकी छिन् । स्थानीय व्यांक्सटाउन काउन्सिलको काउन्सिलर पदमा लेबर पार्टीको तर्फबाट उम्मेद्वारको दोश्रो सूचिमै रहेकी भद्रा वाईवा जित्ने निश्चित भएको हो ।

औपचारिक नतिजा केही समयमा आउने भएपनि लेबरले यो क्षेत्रमा आफ्नो पकड बनाएपछि दोश्रो नम्बरमा रहेकी उनी काउन्सिलर बन्ने पक्का भएको छ ।
शनिबार साँझ यो खुशीयाली बाँड्न आयोजना गरिएको कार्यक्रममा संघीय सांसद टोनी बर्कले आफ्नो तीनैजना उम्मेद्वार काउन्सिलर बन्ने नभए दुईजना निश्चितै काउन्सिलर पदमा विजयी बनेको जानकारी दिए । भद्रा वाईबा रोजल्याण्ड उम्मेदवार छिन् ।

केविसीखबरसँग कुरा गर्दै नर्स रहेकी भद्रा वाईवाले यो जीतले स्थानीय समूदायको हितमा काम गर्न आफुलाई ऊर्जा दिएको प्रतिक्रिया दिइन् । वाईबा अष्ट्रेलियाको राजनीतिमा काउन्सिलर पदमा विजयी हुने पहिलो नेपाली मूलकी आदिवासी जनजाति महिला हुन् । उनले चुनावी अभियानको क्रममा सहयोग गर्ने स्वयंसेवकहरुसहित आफ्नो वार्डका सबै नागरिकलाई धन्यवाद दिएकी छिन् ।

सन् २०१३ देखि लेबर पार्टीको सदस्य भई स्थानीय राजनीतिमा सक्रिय रहँदै आएकी वाईवालाई न्यूसाउथवेल्सका नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्काले बधाई दिँदै यो ऐतिहासिक अवसर भएको बताएका छन् । यतिबेला नेपाली समूदायका अगुवाहरु यो विजयको खुशी साटासाट गरिरहेका छन् ।

स्थानीय निर्वाचनमा यस पटक वाईवासहित ९ जना नेपालीमूलका अष्ट्रेलियन नागरिकहरुले उम्मेद्वारी दिएका थिए ।