कामठाडौँ । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भए पनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो। यद्यपि सोमबार अपराह्न पूर्णिमा तिथि लाग्ने पञ्चांगले उल्लेख गरेका छन्। यो वर्ष काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा सोमबार फागुपर्व मानाइँदै छ भने मंगलबार तराईमा होली मनाइँदै छ।
वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक अर्कालाई दलेर मनाउने चलन छ ।
फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ। यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।
फाल्गुण शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली सुरु हुन्छ। यो पर्व पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त हुन्छ ।

प्रतिक्रिया