सर्वोच्चमा मुद्दाको नियमित सुनुवाइ सुरु

सर्वोच्चमा मुद्दाको नियमित सुनुवाइ सुरु


काठमाडौं, १७ मंसिर । गोला प्रणालीबाट पेशी तोक्न थालेपछि शुक्रबारदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन थालेको छ । न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायीले पनि बहस गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बहस गर्न छाडेका थिए । त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशले पनि बन्दी प्रत्यक्षीकरणबाहेकको मुद्दामा सुनुवाइ गरेका थिएनन् । गोला प्रणालीबाट इजलास गठन भएको तेस्रो दिनमात्र मुद्दाको सुनुवाइ हुन सकेको हो ।
मंसिर १५ गतेदेखि गोला प्रणाली सुरु भए पनि कानुन व्यवसायीले प्रधानन्यायाधीशको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि १५ र १६ गते भने इजलास बस्न सकेको थिएन । तर कोरोना संक्रमित भई बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू बिदामा नरहेको भनी न्यायाधीशहरुलाई जानकारी गराएपछि न्यायिक नेतृत्वको विषय टुंगिएको थियो ।
प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलनमा रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा गोला प्रणालीमा सहभागी नभएकाले सेवाग्राहीको सजिलोका लागि मुद्दाको सुनुवाइमा सहयोग गरेको बताउनुभएको छ । शुक्रबार सर्वोच्च अदालतमा गोला प्रणालीबाट १० वटा इजलास गठन भएको छ र सबै इजलासले मुद्दाको सुनुवाइ गरेका छन् ।