नवप्रवेशी सातदोबाटोले एपीएफलाई ४–१ ले हरायो, थ्रीस्टार हारबाट जोगियो

नवप्रवेशी सातदोबाटोले एपीएफलाई ४–१ ले हरायो, थ्रीस्टार हारबाट जोगियो


काठमाडौं, १७ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले विभागीय टोली एपीएफलाई पराजित गरेको छ । शुक्रवार भएको दोस्रो खेलमा सातदोबाटोले एपीएफलाई चार–एक गोल अन्तरले हराएको हो ।
सातदोबाटोको जितमा मार्टीन्स कायोदी अजयीले ह्याट्रिक गरे । मार्टिन्सले खेलको ४२ औँ, पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै सुशील राईले खेलको ५० औँ मिनेटमा गोल गरे । यसैबीच मार्टिन्स यो संस्करणको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
एपीएफका लागि खेलको ४८ औँ मिनेटमा विकी तामाङले सान्त्वना गोल गरे ।
यो जितसँगै सातदोबाटो तीन खेलमा सात अंकसहित अंक तालिकाको शीर्षस्थानमा उक्लिँदा एपीएफ भने अंकविहीन हुँदै पुछारमा छ ।
यसैगरी शुक्रबार भएको पहिलो खेलमा मिक्चेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि थ्री स्टारले ललितपुर डर्बीमा फ्रेन्ड्ससँगको हारबाट आफूलाई जोगाएको हो । यससँगै दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । गोल गर्न असफल भइरहेको थ्री स्टार दबाबमा परेको बेला फ्रेन्ड्सले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै झन् दबाब दिएको थियो । ५१ औँ मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै गार्सियाले बलियो टोलीविरुद्ध अग्रता निकालेका थिए । त्यसपछि दबाबमा परेको थ्री स्टारले काउन्टर अट्याकको रणनीति अपनाउँदै फ्रेन्ड्सलाई दबाबमा राख्न पुग्यो । कप्तान प्रकाश बुढाथोकी चोटग्रस्त हुँदै उपचारका लागि बाहिरिएको अवस्थामा कम खेलाडी भएको फाइदा उठाउँदै थ्री स्टारले बराबरी गोल फर्काउन सफल भयो । ८३ औँ मिनेटमा हेमन्त थापामगरको चलाखीपूर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई एक–एक गोलको बराबरीमा ल्याए र यो नतिजा नै निर्णायक बन्यो । त्यसपछि पनि स्पष्ट अङ्कका लागि प्रयास गरे पनि थ्री स्टार सफल हुन सकेन ।
बराबरीपछि थ्री स्टारले तीन खेलबाट चार अङ्क जोडेको छ । समान तीन खेल खेलेको फ्रेन्ड्सको दुई अङ्क भएको छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासललाई तीन–शून्यले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग एक–शून्यले स्तब्ध भएको थियो । फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी र दोस्रो खेलमा सङ्कटालाई दुई–एकको नतिजा सुम्पिएको थियो ।