नौ देशबाट नेपाल आउन प्रतिबन्ध !

नौ देशबाट नेपाल आउन प्रतिबन्ध !


काठमाडौं, १६ मंसिर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ विरुद्ध प्रतिकार्य योजना लागू गर्दै सरकारले दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बिहीबार रातिदेखि लागू हुने गरी दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिविया, लोसोथो, इसवाटिनी, मोजाम्विक, मलावी र हङकङबाट नेपाल आउन रोक लगाइएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन नदिन तथा त्यस विरुद्ध प्रतिकार्य योजना लागू गर्ने गर्ने ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश–२०७८’ जारी गरेको थियो । सोही आदेशअनुसार दक्षिण अफ्रिकासहित ९ मुलुक र ती मुलुकहरुलाई ट्रान्जिट बनाएर नेपाल आउन रोक लगाइएको र त्यसको कार्यान्वयनका लागि सम्बन्धित संयन्त्रलाई परिपत्र गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
यी मुलुकलाई ट्रान्जिट बनाएर आउने अरु देशका नागरिकलाई पनि अर्को आदेश नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको हो । जोखिमयुक्त मुलुकमा अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न पनि सरकारले आग्रह गरेको छ । नेपालबाट विदेश जाने कर्मचारीले पूर्वस्वीकृतिसमेत लिनु पर्ने छ ।
त्यस्तै प्रतिबन्ध लगाइएका मुलुकको यात्रा गरेर तीन साता अवधि पूरा नगरेका अरु देशका नागरिकलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । आदेश जारी भएका बखत नेपाल भ्रमणका लागि ट्रान्जिटमा रहेका यात्रुलाई भने नेपाल आएपछि आफ्नै खर्चमा सात दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ ।