प्रधानन्यायाधीशलाई विदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

प्रधानन्यायाधीशलाई विदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव


काठमाडौं, १६ मंसिर । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्मेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।
‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठवन्धनले निष्कर्ष निकालेको छ’, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेललगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।