‘ए’ डिभिजन लिग : मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा, एपीएफको लगातार हार

‘ए’ डिभिजन लिग : मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा, एपीएफको लगातार हार


काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले पराजित गर्दै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा मनाङका आफिज ओलावालेले ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । उसको दुई खेलमा ६ अंक छ । पहिलो खेलमा हिमालयन शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो । उसको एक अंक छ ।
यसैगरी शनिबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले एपीएफ क्लबलाई १–० गोलले हराएको छ । च्यासलको जितमा खेलको ४९ औँ मिनेटमा रुमेश बर्तौलाले गरेको गोल नै निर्णायक बन्यो । च्यासलको यो पहिलो जित हो । च्यासल पहिलो खेलमा थ्री स्टारसँग पराजित भएको थियो । विभागीय टोली एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३–२ गोलले पराजित भएको थियो । जितसँगै च्यासलको तीन अंक भएको छ ।