कोभिड फैलिने आशंकामा अष्ट्रेलियाले लगायो ९ देशबाट भ्रमण प्रतिबन्ध

कोभिड फैलिने आशंकामा अष्ट्रेलियाले लगायो ९ देशबाट भ्रमण प्रतिबन्ध



मेलबर्न, अष्ट्रेलिया ।

पछिल्लो समय दक्षिण अफ्रिकालाई चपेटामा लिइरहेको ओमिक्रोन भेरियन्टको त्रासका कारण अष्ट्रेलियाले ९ देशबाट अष्ट्रेलिया आउन प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध गैरअष्ट्रेलियनहरुको लागि लागू हुनेछ । यसरी प्रतिबन्ध लगाइएका देशहरुमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, लेसा्ेथो, ईस्वातिनी, दि सेचेल्स, मलावी र मोजाम्बिक छन् । यी देशमा रहेका आफ्ना नागरिकहरु अष्ट्रेलिया आउँदा भने उनीहरुले १४ दिनको कडा क्वारेन्टीनमा बस्नुपर्नेछ ।

यी देशहरुबाट अष्ट्रेलिया आइसकेकाहरुलाई पनि तत्कालै आईसोलेसनमा बस्न भनिएको छ भने उनीहरुले पनि १४ दिने क्वारेन्टीन पूरा गर्नुपर्नेछ । आगामी डिसेम्बर १ तारिखबाट अष्ट्रेलियन बाहेकका नागरिकहरुको लागि पनि आफ्नो सिमाना खुल्ला गर्ने निर्णय गरेको अष्ट्रेलियाले पछिल्लो कदमपछि डिसेम्बरको निर्णय के हुने भन्ने प्रश्न खडा भएको छ ।

स्वास्थ्यमन्त्री ग्रेग हन्टले यो भेरियन्टका बारेमा धेरै कुरा खुल्न बाँकी भएकोले अन्य निर्णयहरु पछि गर्दैजाने बताएका छन् । उनले अष्ट्रेलियाले यी देशमा जाने या आउने सबै उडानहरु पनि हाललाई स्थगित गरिएको बताए ।

परिस्थिति हेरेर थप कडा कदम चाल्न पछि नपर्ने उनले संकेत गरेका छन् । यसैबीच, विश्व स्वास्थ्य संगठनले यो नयाँ प्रकारको कोभिड १९ कोरोना भाईरसको बारेमा जानकारी हासिल गर्न केही समय लाग्ने जानकारी दिएको छ ।