एमालेमा नेता व्यवस्थापन गर्न सकस, पदाधिकारी र केन्द्रीय सदस्य थप, पोलिटब्यूरो ब्यूँत्याइयो

एमालेमा नेता व्यवस्थापन गर्न सकस, पदाधिकारी र केन्द्रीय सदस्य थप, पोलिटब्यूरो ब्यूँत्याइयो


काठमाडौं, ११ मंसिर । नेकपा एमालेमा नेता व्यवस्थापनमा सकस परेपछि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरिने भएको छ । महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटीको बैठकले केन्दीय सदस्य थप गर्दै ३ सय सदस्यीय बनाउने स्ताव गरेको छ । विधानतः २ सय २५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने छन् । महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातसम्म बसेको साविक केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो पनि ब्युँताउने निर्णय गरेको छ ।
यसैगरी उपाध्यक्षमा दुई र उपमहासचिवमा पनि दुई जना थप्ने निर्णय भएको छ। योसँगै अब एमालेमा १९ जना पदाधिकारी हुनेछन् । अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव हुनेछन् । दुई महिनाअघि भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी राख्ने विधान पारित गरेको थियो । केन्द्रीय कमिटीको आकार बढाएसँगै महिला एकतिहाइ अर्थात् कम्तीमा सय जना छानिने भएका छन् ।
यस्तै, पोलिटब्युरो ९९ सदस्यीय हुने गरी ब्युँताइएको छ । माओवादी केन्द्रसँग एकता भएपछि नेकपा र पछि एमालेमा पनि पोलिटब्युरो खारेज गरिएको थियो । शुक्रबार मध्यरातमा सकिएको केन्द्रीय कमिटी बैठकले अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग २५–२५ सदस्यीय हुने निर्णय पनि गरेको छ । यसअघि आयोग १५–१५ सदस्यीय हुने व्यवस्था थियो । वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको विधान संशोधन गर्ने निर्णय प्रस्तावका रूपमा बन्दसत्रमा लगेर पारित गरिएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ ।
एमालेले १० औं महाधिवेशनलाई एकताको महाधिवेशनको संज्ञा दिएको छ । त्यहीकारण यो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा नेतृत्व देखिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी संख्या बढाइए पनि पार्टीका मुख्य पद वरिष्ठ उपाध्यक्ष र महासचिवमा चुनाव हुने सम्भावना टरेको छैन ।