चितवनमा एमालेको शक्ति प्रदर्शन, आगामी निर्वाचनमा एकल बहुमत ल्याउने घोषणा

चितवनमा एमालेको शक्ति प्रदर्शन, आगामी निर्वाचनमा एकल बहुमत ल्याउने घोषणा


काठमाडौं, १० मंसिर । संघीय संसद्को सबैभन्दा ठूलो तथा तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशनलाई चुनाव केन्द्रीत बनाएको एमाले ५ लाख मानिस सहभागी भएको दाबी गरेको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताउनुभएको । उहाँले आगामी तीनै तहको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने भएकाले सोही अनुसारको तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।देशको सार्वभौमिकताको रक्षा, लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्दै कार्यान्वयन गर्नका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले आउँदो चुनावपछि एमालेको सरकार बन्ने र एमालेले बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा पूरा गर्ने दृढता व्यक्त गर्नुभयो । स्थानीय तहका निर्वाचनमा पहिलेजस्तो चालिस प्रतिशतभन्दा बढी भन्ने होइन, ५० प्रतिशतभन्दा बढी नेकपा एमालेले हासिल उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले आफूहरु शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै विरोध र विद्वेषको राजनीति नगर्ने बताउनुभयो । उहाँले ओलीले नेपालमा अहिले कुनै पनि प्रकारका हिंसात्मक समुह नभएको र शान्तिपूर्ण वातावरण भएको भन्दै लगानीका लागि उपयुक्त वातावरण रहेको बताउनु्भयो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताउनुभयो । उहाँले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि दलहरुबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले एमालेसँग पार्टी एकता गरेर एकै ठाउँमा रहे पनि केही भिन्न मान्यता र परिवेशले अलग भएको भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले सिकाएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताउनुभयो । विश्वमा कम्युनिस्ट आन्दोलन कमजोर भएका बेला नेपालमा पनि कम्युनिस्ट पार्टीमा टुटफुट आएको भन्दै केसीले कम्युनिस्ट पार्टीको अन्तरविरोधमा बाह्य शक्तिले खेल्न खोजेको बताउनुभएको हो ।
महाधिवेशन उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादफ पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापालगायतले पनि शुभकामना दिनुभएको थियो ।