अवैध लागूपदार्थ तस्करी गरेको आरोपमा ब्रिस्बेनबाट दुई नेपाली पक्राउ

अवैध लागूपदार्थ तस्करी गरेको आरोपमा ब्रिस्बेनबाट दुई नेपाली पक्राउ


मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा अबैध लागुपदार्थ तस्करी गरेको आरोपमा दुई नेपाली नागरिकलाई पक्राउ गरिएको छ। उनीहरुलाई बुधबार राति ब्रिस्बेनबाट पक्राउ गरिएको हो ।

उनीहरूले ४५० ग्राम उक्त लागूपदार्थ सिड्नीबाट कपाल रङ्गाउन प्रयोग हुने ट्युब भित्र हालेर ल्याएका थिए। पक्राउ परेका दुवै युवकको उमेर २१ वर्ष रहेको भनिए पनि उनीहरुको विवरण गोप्य राखिएको छ।

एसबीएस नेपालीका अनुसार ती युवक सिड्नीबाट न्यु साउथ वेल्सको क्यासिनो नामक स्थान रेल चढेर पुगेका थिए। अस्ट्रेलियाको अपराध नियमावली १९९५ को दफा ३०२.३ को बर्खिलाप हुने गरी नियन्त्रित लागु औषधको बिक्रीयोग्य परिमाण तस्करी गरेको आरोपमा उनीहरू दुवै जना माथि पाइन रिभर्स म्याजिस्ट्रेट्स कोर्टमा मुद्दा चलाइएको पनि प्रहरीले बताएको छ।

रोमा स्ट्रिट बस बिसौनी पुग्दा सङ्घीय प्रहरीका अधिकारीहरूले खानतलासी गर्दा उनीहरुको साथबाट उक्त लागुऔषध फेला परेको बताइएको छ। प्रहरीले ती ट्युबहरूमा सीमा नियन्त्रित लागू औषधसँग मेल खाने पदार्थ भेटिएको आरोप लगाउने तयारी गरिरहेको जानकारी दिँदै उक्त पदार्थको हाल थप फोरेन्सिक जाँच भइरहेको बताएको छ।

प्रहरीको आरोप प्रमाणित भएमा उनीहरू दुवैलाई २५ वर्षसम्मको जेल हुन सक्छ। उनीहरू दुवै जनालाई हाल प्रहरी हिरासतमा राखिएको छ । ३ मार्चमा उनीहरूलाई पुनः अदालत समक्ष उपस्थित गराइने प्रहरीले जनाएको छ। ।