नेकपा एमालेको महाधिवेशनका सम्पूर्ण तयारी पूरा, चार देशका विदेशी पाहुना सहभागी हुने

नेकपा एमालेको महाधिवेशनका सम्पूर्ण तयारी पूरा, चार देशका विदेशी पाहुना सहभागी हुने


काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) को दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चितवनको नारायणी नदी किनारामा भोलि महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । एमालेको निमन्त्रणा स्वीकार गरी आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने भएका छन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा आज बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने पक्का भएको बताएको हो । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
विदेशी पाहुनाहरूलाई काठमाण्डौमा रहँदा होटल सोल्टीमा बसोवासको व्यवस्था गरिएको र मङ्सिर ९ गते (बिहीवार) बेलुकी एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले रात्रिभोजको आयोजना गर्नुभएको जनाइएको छ । विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरूसँग मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त ’ब्रेकफास्ट मिटिङ’ गर्ने कार्यसूची रहेको छ । अतिथि सत्कार समितिको अनुसार चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेनसन जङ्गल रिसोर्टमा बसोवासको व्यवस्था मिलाइएको छ । त्यसैगरी स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकनसमेत गराइने भएको छ ।
महाधिवेशनमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई निमन्त्रणा गरिएको भए पनि अहिलेसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागी हुने जानकारी गराउनुभएको एमाले दशौँ राष्ट्रिय महाधिवेशन अतिथि सत्कार समितिले जानकारी दिएको छ ।