अष्ट्रेलियामा आन्तरिक भ्रमण गर्नुपूर्वको कोभिड टेष्टको शुल्क कसले तिर्छ ?

अष्ट्रेलियामा आन्तरिक भ्रमण गर्नुपूर्वको कोभिड टेष्टको शुल्क कसले तिर्छ ?


 

मेलबर्न, अष्ट्रेलिया । 

अष्ट्रेलियामा महामारीको अवधिभर संघीय सरकारले कोभिड १९ को परीक्षण निःशुल्क गरेको छ । अझ भिक्टोरिया लगायत केही राज्यमा त यस्तो परीक्षण गरेर काममा जान नसकेको दिनको ४ सय ५० डलर थप क्षतिपूर्ति पनि पाइने व्यवस्था छ । तर, पछिल्लो समय विभिन्न राज्यका लागि कोभिड १९ को दुबै डोज लगाएका यात्रीहरुलाई आवत जावत गर्न दिने निर्णय भएपनि केही राज्यमा भने भ्रमणपूर्व ७२ घण्टाअघिको परीक्षण नतिजा नेगेटिभ चाहिने भएपछि यस्तो परीक्षणमा शुल्क लाग्ने र यस्तो शुल्क प्रतिव्यक्ति १ सय ५० डलर हुने बताइएको थियो । तर, संघीय स्वास्थ्यमन्त्री ग्रेग हन्टले  यात्रीहरुले यात्रापूर्व गर्ने परीक्षणको कुनै शुल्क नलाग्ने प्रष्ट गरेका छन् ।

उनले कोभिड १९ को परीक्षण नतिजा एसएमएसमार्फत प्राप्त हुने र यस्तो मेसेजलाई राज्यहरुले स्वीकार गर्ने अवस्थामा परीक्षण निःशुल्क हुने स्पष्ट गरेका छन् । उनले यस्तो परीक्षण सरकारले तोकेका ठाउँहरुमा गर्दा शुल्क नलाग्ने जनाए । तर, अन्तर्राष्ट्रिय भ्रमणको लागि आवश्यक पर्ने कोभिड १९ परीक्षणको कागजी प्रमाणपत्र लिँदा भने शुल्क लाग्ने भएको छ । 

क्वीन्सल्याण्डमा आगामी डिसेम्बर १७ तारिखदेखि अन्य राज्यका बासिन्दाहरुलाई भ्रमण खुल्ला गर्ने सन्दर्भमा उनीहरुको परीक्षणको शुल्क कसले तिर्ने भन्ने विवाद सुरु भएको थियो । यहाँकी प्रिमियर एनेस्तेसिया पलासेले यस्तो परीक्षणको शुल्क संघीय सरकारले तिर्नुपर्ने बताइन् । उनले आफुहरुले कुनै यात्रीका लागि थप शुल्क नलिएको बताउँदै परीक्षणको नतिजा एसएमएसमा प्राप्त भए पनि यसलाई स्वीकार गरिने भएपछि समस्या समाधान भएको जानकारी दिइन् । 

अष्ट्रेलियामा महामारी सुरु भएदेखि नै आम सर्वसाधारणलाई गरिने परीक्षण सबै निशुल्क रहँदै आएको छ । यद्यपि दैनिक लाखौं मानिसहरुको परीक्षण गर्दा यसमा लाग्ने खर्च राज्यले र संघीय सरकारले आधा आधा व्यहोर्दै आएका छन् ।