महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित

महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित


काठमाडौं, ७ मंसिर । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई ८ विकेटले पराजित गरेको छ । दुबईमा आज भएको खेलमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्रै दुई विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले आठ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । बलिङतर्फ नेपालकी सीता राना मगरले चार ओभरमा १० रन दिएर तीन विकेट लिइन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् । पहिलो खेलमा नेपाल हिजो हङकङसँग पराजित भएको थियो । छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । शीर्ष स्थानमा रहने टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।