‘ए’ डिभिजन लिग : मछिन्द्रद्वारा एनआरटी पराजित, आर्मी र पुलिसले बराबरी खेले

‘ए’ डिभिजन लिग : मछिन्द्रद्वारा एनआरटी पराजित, आर्मी र पुलिसले बराबरी खेले


काठमाडौं, ६ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लबले विजयी सुरुआत गरेको छ । अर्को खेलमा भने विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा साविक विजेता मछिन्द्रले एनआरटीमाथि २–१ को जित निकाल्दा दुवै गोल सुनिल बलले गरे । खेलको १२औं मिनेटमा सुनिलले गरेको गोलसँगै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा गोल खाएको थियो । ५४औं मिनेटमा एनआरटीका एरिक विष्टले फ्रि–किकमार्फत गोल गरेसँगै बराबरी भएको खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिलले व्यक्तिगत दोस्रो गोल गरे । कप्तान सुजल श्रेष्ठको पासमा ८०औं मिनेटमा सुनिलले ट्याप इनमार्फत विजयी गोल गरेका थिए । जितसँगै मछिन्द्रले तीन अंक हासिल गरेको छ । मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।
यसैगरी सोमबार नै भएको पहिलो खेल पुलिस र आर्मीले एक एक गोलको बराबरीमा टुंगियो । ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।