काठमाडौं, ५ मंसिर । आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ । दशरथ रंगशालमा आइतबार भएको खेलमा मनाङले ललितपुरको जाउलाखेल युथ क्लबलाई १–० गोलले हरायो । मनाङको जितमा रक्षक दिनेश राजवंशी नायक बने । ५७ औँ मिनेटमा भारतीय खेलाडी दयानन्द सिंहको कर्नर पासमा उत्कृष्ट हेडगोल गर्दै दिनेशले मनाङको उत्साह बढाएका थिए ।
यसअघि ५४औँ मिनेटमा मनाङका रोजाईका स्ट्राइकर अन्जन विष्ट खाली पोस्टमा चु्केका थिए । नाइजेरियन खेलाडी एडेलाजा समिडेको पोस्ट नजिक उपलब्ध गराएको पासमा अन्जनको हेड प्रहार पोस्ट थोरै बाहिरिएको थियो । पहिलो हाफमा मनाङलाई कडा टक्कर दिएको जाउलाखेलले दोस्रो हाफमा आशातित प्रदर्शन गर्न सकेन । ४५औँ मिनेटमा ओनगुना केनग्वे जुनियरको शसक्त हेड प्रहार क्रसबारमा लागेर फर्किएपछि जाउलाखेल निराश बनेको थियो ।
दोस्रो हाफमा मनाङविरुद्ध रक्षात्मक रणनीति अपनाएको जाउलाखेल आफ्नो रणनीतिमा सफल बन्न सकेन । हरेक लिगमा उपाधिको दाबेदार बन्दै आएको मनाङलाई पनि जाउलाखेलविरुद्ध जित निकाल्न हम्मेहम्मे परेको थियो ।
जाउलाखेलसँगको कठिन जितसँगै मनाङले तीन अंक बनाएको छ । जाउलाखेलले हारबाट लिगको सुरुवात गरेको छ ।
यसैगरी ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेको छ । आज भएको पहिलो खेलमा ब्रिगेडले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हरायो । ब्रिगेडको रोमाञ्चक जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपीएफका आशिष लामा र विक्की तामाङले गोल गरे पनि टोलीको हार टरेन ।
निकै प्रतिस्पर्धात्मक खेलमा ब्रिगेडले ११ औँ मिनेटमा खाता खोलेको थियो । दिनेशले करिब ३५ यार्ड लामो फ्रिकिक प्रहारमा सोझै जाली चुमाएका थिए । त्यसपछि एपीएफले १७ औं मिनेटमा बराबरी गोल फर्कायो । आशिषले आवास लामिछानेको पासमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि ६५ औँ मिनेटमा दिनेश राईले व्यक्तिगत दोस्रो गोल गर्दै बीबीसीलाई पुनः अग्रता दिलाए । उनले सुुरज गुरुङको पासमा गोल गरेका हुन् ।
७७ औँ मिनेटमा एपीएफका विक्की तामाङले हेडगोल गर्दै खेललाई फेरि २–२ गोलको बराबरीमा ल्याए । उनले रवि थिङको पासमा गोल गरेका हुन् । दोस्रो हाफको इन्जुरी समयमा ब्रिगेडका सुरज गुरुङले गोल गर्दै टिलीलाई महत्वपूर्ण जित दिलाए । एपीएफका रक्षकले क्लियर गर्न नसकेको बललाई सुरजले सोझै जाली चुमाएका थिए । ब्रिगेडका रोशन रानामगर ‘म्यान अफ दी म्याच’ भए । लिगमा पहिलो जितसँगै ब्रिगेडले तीन अंक बनाएको छ ।
लिगअन्तर्गत सोमबार हुने पहिलो खेलमा विभागीय टोलीको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मच्छिन्द्र र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया