४९ हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई डिसेम्बरबाट भिक्टोरियामा आउने बाटो खुल्यो, क्वारेन्टीन बस्न नपर्ने

४९ हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई डिसेम्बरबाट भिक्टोरियामा आउने बाटो खुल्यो, क्वारेन्टीन बस्न नपर्ने



मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियाका विभिन्न कलेज, युनिभर्सिटीमा अध्ययन गर्नका लागि भर्ना भएका र यतिबेला महामारीका कारण अष्ट्रेलिया बाहिर रहेका ४९ हजार विद्यार्थीहरुलाई अब कलेज या युनिभर्सिटीमै आएर आफ्नो शिक्षा अघि बढाउने अवसर प्राप्त हुने भएको छ । राज्य सरकारले संघीय सरकारबाट अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजनालाई ग्रीन सिग्नल दिएको जानकारी गराएपछि यतिबेला विद्यार्थीहरुमा नयाँ ऊर्जा थपिएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया आउनबाट रोक लगाइएपछि यतिबेला आफ्नै देशमा बसेर पढिरहेका थिए ।

तिमध्ये कतिपयले पढाई सकाएपनि प्राक्टिकल र प्लेसमेन्ट लगायतका लागि यहाँ आउनैपर्ने बाध्यता थियो । सरकारले सुरुमा यिनै विद्यार्थीलाई प्राथमिकता दिने भएको छ । स्वास्थ्य र मेडिकल क्षेत्रका विद्यार्थीहरु, रिसर्च गर्ने विद्यार्थी र प्रयोगात्मक परीक्षा बाँकी रहेकाहरुलाई पहिलो नम्बरमा प्रवेश दिइनेछ । यसपछि क्रमशः अन्य विद्यार्थीहरुले पनि यहाँ प्रवेश पाउनेछन् ।

यसभन्दा पनि खुशीको कुरा यसरी आउने विद्यार्थीहरुले यदि अष्ट्रेलियाले मान्यता दिएको कोभिड १९ कोरोना विरुद्धको खोप लगाएको प्रमाण पेश गर्न सकेमा यहाँ आएर क्वारेन्टीन बस्नु पर्ने छैन । तर, अष्ट्रेलिया आइपुग्नु अघि ७२ घण्टाभित्रको परीक्षण नतिजा भने पेश गर्नुपर्नेछ ।

हाल भिक्टोरिया राज्यमा मात्रै ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी छन् । यहाँका विभिन्न शिक्षालयहरुमा भर्ना भएका करिब ४९ हजार देश बाहिर नै छन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन नहुँदा यहाँका शिक्षालयहरुमा ठूलो मार परेको छ । भिक्टोरियाको अर्थतन्त्रमा वार्षिक १३ दशमलब ७ विलियन डलरको योगदान अन्तर्राष्ट्रिय विद्यार्थीले दिँदै आएका थिए ।