चन्द्रागिरीमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण

चन्द्रागिरीमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण


काठमाडौं, ४ मंसिर । योगगुरु बाबा रामदेवले शनिबार चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए ।
रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका हुन् । शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए ।
त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिप लाइनमा पनि सयर गरेका थिए ।
रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए ।