महामारीपछि पहिलो पटक डिसेम्बर ६ तारिख अन्तर्राष्ट्रिय विद्यार्थी न्यूसाउथवेल्स आइपुग्दै

महामारीपछि पहिलो पटक डिसेम्बर ६ तारिख अन्तर्राष्ट्रिय विद्यार्थी न्यूसाउथवेल्स आइपुग्दै



सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियामा गएको करिब १९ महिनादेखि अबरुद्ध अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन सुरु हुन लागेको छ । न्यूसाउथवेल्सको पाईलट प्रोजेक्ट अन्तर्गत ६ डिसेम्बरमा १५ देशका २ सय ५० विद्यार्थी पहिलो पटक आइपुग्नेछन् । यसपछि आगामी डिसेम्बर २४ तारिखमा पहिलो पटक अन्तर्राष्ट्रिय भारतीय विद्यार्थीहरु न्यूसाउथवेल्स आइपुग्दैछन् । यसरी आउने विद्यार्थीहरुले क्वारेन्टीनमा बस्नुपर्ने छैन । उनीहरुले दुबै डोज कोरोना विरुद्धको खोप लगाएको भएमात्र यो प्रावधान लागू हुनेछ । खोप नलगाएकाहरुलाई अष्ट्रेलिया प्रवेशमा बन्देज छ ।

यतिबेला अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या न्यून छ । नयाँ विद्यार्थीले पनि अमेरिका, बेलायत, क्यानडा जस्ता देशलाई आफ्नो गन्तव्य बनाएको र अष्ट्रेलिया आउन अनिच्छुक देखिएको तथ्यांकहरु सार्वजनिक भइरहँदा यहाँका सरकारी अधिकारीहरुले यो परियोजनालाई स्वीकृति प्रदान गरेका थिए ।
अष्ट्रेलियाका अन्य राज्यहरुले पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गर्ने योजना बनाइरहेका छन् ।

हालै भिक्टोरिया राज्यले कमवेल्थ सरकारबाट अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजनालाई स्वीकृति पाएको छ । तर, यहाँ विद्यार्थी आउने क्रमको सुरुवात भने अर्को वर्षको मार्च महिनाबाट मात्रै हुन सक्नेछ । न्यूसाउथवेल्सको योजनाले कसरी मूर्तरुप लिन्छ यसैका आधारमा अन्य राज्यहरुले पनि अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने योजनालाई अघि बढाउने देखिएको छ ।

पहिलो योजनाको कार्यान्वयन पछि सुरु हुने दोश्रो योजना अन्तर्गत भने थप विद्यार्थी संख्या तोकिनेछ भने टेफ, अग्रेजी भाषा अध्ययन गराउने कलेजहरु, निजी शिक्षालयहरु तथा माध्यमिक व्द्यिालयका विद्यार्थीहरु समेत आउनसक्ने व्यवस्था गरिन लागेको छ ।