वार्तामा आउन आग्रहसहित प्रधानन्यायाधीशको बारलाई पत्र, आइतबारदेखि बहस नगर्ने बारको निर्णय

वार्तामा आउन आग्रहसहित प्रधानन्यायाधीशको बारलाई पत्र, आइतबारदेखि बहस नगर्ने बारको निर्णय


काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गर्दै नेपाल बार एशोसिएशनलाई पत्र पठाउनुभएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई जबराले पत्र पठाउनुभएको हो । बारको कार्यसमिति बैठकमा पत्रबारे जानकारी समेत गराइएको छ । पत्रमा जबराले न्यायालयको शुद्धीकरण अभियानका लागि आफू तत्पर रहेको जानकारी दिनुभएको छ । उहाँले वार्ता र संवादबाट मात्र समस्याका निकास निस्कने भन्दै वार्ताका लागि बारलाई आह्वान गर्नुभएको हो । यसअघि पनि जबराले वक्तव्य जारी गरेर वार्ताका लागि आह्वान गर्नुभएको थियो ।
बार महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीशको पत्र आए पनि त्यसको कुनै औचित्य नभएको बताउनुभयो । पौडेलले भन्नुभयो, ‘‘पत्र आएको छ । बैठकमा यसबारे जानकारी पनि गराइएको छ । तर, उहाँलाई हामीले प्रधानन्यायाधीश नै मानेका छैनौँ, यो पत्रको कुनै औचित्य छैन । हाम्रो आन्दोलन रोकिन्न । बटमलाइन भनेको राजीनामा नै हो ।’’
प्रधानन्यायाधीश राणाले वार्ताका लागि पठाएको पत्रबारे निर्णय गर्दै बारले कानुन व्यवसायीमाथि भैरहेको दमन र धम्कीप्रति खेदसमेत व्यक्त गरेको छ । यसैबीच कानुन व्यवसायीहरुले आइतबारदेखि बन्दी प्रत्यक्षीकरण बाहेका मुद्दामा बहस नगर्ने भएका छन् । नेपाल बार एसोसिएसनका महासचिव पौडेलका अनुसार कानुन व्यवसायीमाथिको आक्रमणको विरुद्धमा देशैभरी बन्दी प्रत्यक्षीकरण बाहेक बहस नगर्ने निर्णय गरिएको हो ।