मन्त्रिपरिषद् बैठक : विद्युतीय ग्रिड सुधार गर्न ६० मिलियन डलर स्वीकार्ने निर्णय

मन्त्रिपरिषद् बैठक : विद्युतीय ग्रिड सुधार गर्न ६० मिलियन डलर स्वीकार्ने निर्णय


काठमाडौं, ३ मंसिर । सरकारले विद्युतीय ग्रिड सुधारका लागि ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
‘विद्युतीय ग्रिड आधुनिकीरण आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको छ’, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका प्रवक्ता कार्कीले भन्नुभयो । सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को मङ्सिर २ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
त्यसैगरी सरकारले पशु कल्याण विधेयक प्रमाणिकरणका लागि स्वीकृति दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका निम्ति सरकारले समिति गठन गर्ने निर्णयसमेत गरेको छ । सरकारले केही विदेश भ्रमण स्वीकृति र बढुवाको निर्णय गरेको छ । यसैगरी मोरक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार एशियन–अफ्रिकन लिगल कन्सल्टटेटिभ अर्गनाइजेसन (एएएलसिओ) को ५९ औं वार्षिक सभामा भाग लिन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाल बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ ।
दक्षिण कोरियामा हुने संयुक्त राष्ट्र संघको शान्ति मिसनको बैठकमा सहभागी हुन रक्षामन्त्री डा. मिनेन्द्र रिजालको नेतृत्वको टोली पठाउने निर्णय बैठकले गरेको हो । यसैगरी नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहमा डा श्यामसुन्दर यादव, डा भिमसिंह टिंकरी र डा गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।