सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास तोक्ने कार्यविधि पारित, भोलिबाट नियमित सुनुवाइ हुने

सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास तोक्ने कार्यविधि पारित, भोलिबाट नियमित सुनुवाइ हुने


काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गोेलाप्रथाबारेको कार्यविधि तयार गरेको हो । न्यायाधीशहरुको बैठकबाट निर्णय भए तयार भएको कार्यविधिलाई मुख्य रजिस्ट्रारले प्रधानन्यायाधीश समक्ष पेस गर्ने र प्रधानन्यायाधीशले पास गरे पछि सो कार्यविधि फुलकोर्टले पारित गरे सरह हुने बताइएको छ ।
प्रधानन्यायाधीशबाट सो कार्यविधि अनुमोदन भए त्यसपछि कानुन मन्त्रालयमा पठाउने छ । कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि गोला प्रणाली लागू गर्ने व्यवस्था कार्यान्वयनका लागि कानुनी आधार पूरा हुनेछ । साथै भोलिबाट १९ जना न्यायाधीशहरूले कानुन व्यवसायी नचाहिने खालका निवेदनहरूसँग सम्बन्धित सबै मुद्दामा सुनुवाइ गर्ने निर्णय समेत भएको बताइएको छ ।
सर्वोच्चको नियमावलीमा ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरूमा मुद्दा तोक्ने’ व्यवस्था छ  । अब त्यसलाई संशोधन गरेर ‘गोला प्रणालीबाट मुद्दा तोकिनेछ’ बनाइनेछ ।
गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेगरी प्राथमिकता निर्धारण गरिने निर्देशिकामा छ  । त्यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था हुन्छ ।