नेपाली महिला क्रिकेट टोलीको ऐतिहासिक जित, कतारसँगको टी–२० शृङ्खलामा ‘क्लिन स्वीप’

नेपाली महिला क्रिकेट टोलीको ऐतिहासिक जित, कतारसँगको टी–२० शृङ्खलामा ‘क्लिन स्वीप’


काठमाडौं, २ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ऐतिहासिक प्रदर्शन गर्दै कतारसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । दोहाको वेस्ट इन्ड पार्क स्टेडियममा बिहीवार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई १ सय ९रनले हराउँदै नेपालले शृङ्खला क्लिन स्वीप गरेको हो । नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा सात गुमाएर ५५ रनमात्रै बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि सीता राना मगरले नटआउट ८२ रन बनाइन् । यो प्रतियोगिताका तीन वटै खेलमा नेपाली खेलाडीले अर्धशतक बनाएका छन् । यसअघि पहिलो खेलमा इन्दु वर्माले र दोस्रो खेलमा कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाएका थिए ।
अब नेपाली टोली टी–२० विश्व कप छनोट खेल्न सिधै यूएई जानेछ । छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।