ऊर्जा सहकार्यका बारेमा नेपाल र भारतबीच छलफल

ऊर्जा सहकार्यका बारेमा नेपाल र भारतबीच छलफल


काठमाडौं, २ मंसिर (रासस) । नेपाल र भारतका ऊर्जा सचिवबीच ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको छ । ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमारबीच द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार दुई देशबीचमा ऊर्जा क्षेत्रको सहकार्य र त्यसका विविध आयामका बारेमा छलफल भएको हो ।
प्रवक्ता भेटुवालले गएको कात्तिक ३० गते भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय हित र चासोका साथै ऊर्जा क्षेत्रका साझा चासोका बारेमा सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो । ऊर्जा सचिव नेतृत्वको प्रतिनिधिमण्डल हिजो बुधवार स्वदेश फर्केको थियो । नेपालले केही दिन पहिलेदेखि भारतलाई ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ ।