भोलिबाट भिक्टोरियामा ‘केही बाहेक अन्यत्र’ मास्क पनि लगाउनु नपर्ने !

भोलिबाट भिक्टोरियामा ‘केही बाहेक अन्यत्र’ मास्क पनि लगाउनु नपर्ने !



मेलबर्न, अष्ट्रेलिया ।


अष्ट्रेलियामा जनसंख्याको हिसाबले दोश्रो ठूलो राज्य भिक्टोरियामा आज मध्यरातपछि कोभिड १९ कोरोनाका कारण लगाइएका प्रतिबन्धलाई हटाइँदैछ । आज मध्यरातपछि अब कुनैपनि हस्पिटालिटी स्थलहरुमा सीमित संख्या नतोकिने भएको छ भने घरमा जान पाउने पाहुनाको संख्या पनि हटाइएको छ । यसअघि ३० जनासम्म घरमा भेला हुन पाउने नियम थियो ।

प्रिमियर डेनियल एन्ड्रयूजले अब स्थिति सामान्यतर्फ अघि बढेको बताएका छन् । नयाँ प्रावधान अनुसार अब सार्वजनिक स्थल, स्वास्थ्य संस्थाहरु, माध्यमिक विद्यालय र खुद्रा पसलहरु बाहेक अन्यत्र मास्क लगाउनु पर्ने छैन । यो शनिबार या आईतबारसम्ममा भिक्टोरियाका १२ वर्षभन्दा माथि उमेर समूहका ९० प्रतिशतले कोभिड १९ कोरोना विरुद्धको खोप लगाइसक्नेछन् ।


यस्तै नयाँ प्रावधान अनुसार अब कोरोना लागेको अवस्थामा पनि १४ दिन होइन जम्मा १० दिन मात्रै सेल्फआईसोलेसनमा बसे पुग्नेछ । अब कन्ट्याक ट्रेसिंग र पोजेटिभहरुको बारेमा एक्सपोजर साईटहरुको सूचि प्रकाशित गरिने छैन । घरमै रहेका क्लोज कन्ट्याक्टहरुलाई खोप लगाइसकेको हो भने १० दिन र नलगाएकाहरुलाई १४ दिन सेल्फ आइसोलेसनमा राखिनेछ । घर बाहिरका क्लोज कन्ट्याक्टहरुलाई परीक्षणको नतिजा नेगेटिभ नआउँदासम्म मात्रै आईसोलेसनमा राखिने भएको छ ।


यसैबीच, बिहीबार थप १ हजार ७ जना नयाँ कोरोना बिरामी थपिएका छन् । गएको २४ घण्टामा १२ जनाले कोभिडकै कारण ज्यान समेत गुमाएका छन् ।