सर्वोच्च अदालत नियमावली संशोधन गर्ने सहमति, फुलकोर्ट बोलाउन माग, निस्किएला त निकास ?

सर्वोच्च अदालत नियमावली संशोधन गर्ने सहमति, फुलकोर्ट बोलाउन माग, निस्किएला त निकास ?


काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीच सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति भएको छ । आज बसेको १४ न्यायाधीशहरुको बैठकमा नियमावली संशोधनका लागि तयार कार्यविधिमा सहमति भएको हो । योसँगै उनीहरुले त्यसलाई अनुमोदन गराउन फुटकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय गरेका छ ।
नियमावलीमा राखिने विषयमा सहमति जुटेपछि फुलकोर्ट बोलाउन माग गर्ने निर्णय भएको हो । जसमा इसलास तोक्न गोलाप्रथा लागू गर्नुपर्नेलगायतका विषय रहेका छन् । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।
न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताइएको छ । तर, प्रधानन्यायाधीशको राजीनामाको अडान भने उनीहरुले कायमै राख्ने भएका छन् । आजको न्यायाधीशहरुको बैठकमा जबरा कित्तामा रहेका भनिएका ५ न्यायाधीश भने सहभागी भएका थिएनन् ।