अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा, यस्तो छ भेटघाटको कार्यक्रम

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा, यस्तो छ भेटघाटको कार्यक्रम


काठमाडौं, १ मंसिर (रासस) दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन उनी नेपाल आएका हुन् ।
दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले भोलि बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले पर्सि शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ । उक्त मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उहाँले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन् । नेपालमा रहेको अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ ।
भोलि बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने तथा उनले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । “कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ ।
सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी, नायब शिष्टाचार महापाल रेवतीरमण पौडेल र अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।