सर्वोच्च अदालतको बेन्च विभाजित, बारको नयाँ आन्दोलन घोषणा

सर्वोच्च अदालतको बेन्च विभाजित, बारको नयाँ आन्दोलन घोषणा


काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनाममा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् । इजलास बहिष्कारमा उत्रिएको २२ दिनपछि न्यायाधीशहरु विभाजित भएका हुन् ।
इजलास बहिष्कार गर्दै आएका १९ मध्ये ४ न्यायाधीशले नियमित मुद्दाको सुनुवाइ थालेका छन् । मंगलबार तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित सुनुवाइमा फर्किएका हुन् । प्रधानन्यायाधीशको पक्षमा लागेका न्यायाधीश कुमार चुडालको भने विपक्षमा रहेका प्रकाशकुमार ढुंगानासँग संयुक्त इजलास थियो । उक्त इजलास ढुंगानाका कारण बस्न सकेन ।
प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति जारी गरेसँगै यी पाँच न्यायाधीशले नियमित सुनुवाइमा फर्किने र इजलास बहिस्कारमा लागेका न्यायाधीशहरूसँगको छलफलमा नबस्ने निष्कर्ष निकालेका थिए । त्यसयता उनीहरू नेपाल बार एसोसिएसनसँगको छलफलमा दुवै दिन बसेनन् ।
नेपाल बारको आन्दोलन ३ गतेसम्म निरन्तर
यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । बारको आज बसेको बैठकले प्रधानन्यायाधीशले ३ मंसिरसम्म राजीनामा नदिए उच्च अदालतको इजलास भएका १८ स्थानमा पनि विरोध प्रदर्शन गर्ने जनाएको छ ।
नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुले मंगलबार सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुसँग छलफल गरेका थिए । लगत्तै बसेको बारको बैठकले सर्वोच्च अदालत परिसरमा भइरहेको आन्दोलनलाई मंसिर ३ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले प्रधानन्यायाधीश जबरा सहभागी सार्वजनिक कार्यक्रममा सहभागी नहुने निर्णय समेत गरेको बार एशोसिएसनका महासचिव लीलामणि पौड्यालले बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराबाहेक संवैधानिक परिषद्को बैठक राख्न र निकासका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।