सीपी मैनाली फेरि पनि नेकपा मालेको महासचिव !

सीपी मैनाली फेरि पनि नेकपा मालेको महासचिव !


काठमाडौं, २९ कात्तिक । नेकपा (माले) को महासचिवमा पुनः सीपी मैनाली चयन हुनुभएको छ । पार्टीको आठौँ महाधिवेशनले महासचिवमा मैनालीलाई चयन गरेको हो । महाधिवेशनको बन्द सत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै सोमबार बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो ।
कात्तिक २७ देखि सोमबारसम्म चितवनमा भएको महाधिवेशनले विधान संशोधन गरी अहिले रहेको केन्द्रीय समितिको संख्या थप गरी ८१ पु¥याएको छ । आउँदो पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ । महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद र राजनैतिक प्रतिवेदन’ महासचिव मैनालीलले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा संगठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दीननाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेस भएको थियो । पेस गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको छ ।