यतिबेला अष्ट्रेलियाका कुन कुन राज्यमा घुम्न पाइन्छ ?

यतिबेला अष्ट्रेलियाका कुन कुन राज्यमा घुम्न पाइन्छ ?


मेलबर्न, अष्ट्रेलिया ।

कोभिड १९ कोरोनाको खोप लगाउनेहरुको संख्या बढेसँगै अष्ट्रेलियाका विभिन्न राज्यहरुले त्यहाँको स्थानीय सिमाना खुल्ला गर्न थालेका छन् । अझै पनि लण्डन जानुभन्दा पर्थ जान नसकिने तथ्य भने सबैका सामू छ । यतिबेला कुन राज्यमा जाने कस्तो छ प्रावधान ? यस विषयमा यो सामग्री तयार पारिएको छ ।

न्यूसाउथवेल्स यतिबेला सबैभन्दा उदार राज्यको रुपमा देखिएको छ । सत्तारुढ दलकै नेतृत्वको सरकार रहेका कारण पनि यहाँको नीति नियम र प्रवेशका प्रावधानहरु सहज बनेको धेरैले बुझेका छन् । अष्ट्रेलियाका कुनैपनि राज्यबाट न्यूसाउथवेल्समा जान कुनै प्रतिबन्ध छैन यतिबेला । तर, १६ वर्षभन्दा बढी उमेरको व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको छैन भने यहाँ घुमफिर गर्नका लागि प्रवेश पाइने छैन ।

यता भिक्टोरिया राज्य सरकारले अष्ट्रेलियाका सबै ठाउँलाई ग्रीन जोन घोषणा गरेपछि यहाँ आउन कसैलाई पनि रोक लगाइने छैन । तर, यसको लागि प्रवेश अनुमति भने सर्भिस भिक्टोरियाबाट लिनुपर्नेछ । तर, भिक्टोरियाबाट अष्ट्रेलियाका केही ठाउँमा जान भने रोक लगाइएको छ ।

उता क्वीन्सल्याण्डले तास्मानिया, साउथ अष्ट्रेलिया र वेष्टर्न अष्ट्रेलियाका यात्रीहरुलाई निर्वाध स्वागत गरिरहेको छ । नर्दन टेरेटोरीबाट पनि आउन कुनै रोक छैन तर केथरिन जहाँ केही समय अघि कोरोना देखिएको थियो त्यहाँबाट आउनेहरुले भने क्वारेन्टीन बस्नुपर्नेछ । न्यूसाउथवेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरेटोरीबाट आउनेहरुले क्वारेन्टीन बस्नुपर्नेछ तर सोमबारबाट उनीहरुले आफ्नै घरमा होम क्वारेन्टीन पनि बस्न पाउने भएका छन् । तर, त्यसका लागि दुबै मात्रा खोप लगाएको दुई साताभन्दा बढी भएको हुनुपर्नेछ भने ७२ घण्टाको कोभिड १९ नेगेटिभ रिपोर्ट प्रस्तुत गर्नुपर्नेछ । सडक मार्गबाट प्रवेश गर्न पाइने छैन भने क्वारेन्टीन बस्ने घर विमानस्थलबाट २ घण्टाभन्दा बढी दूरीको हुन हुँदैन । यसअघि यो प्रतिबन्ध निकै कडा थियो भर्खरै क्वीन्सल्याण्ड सरकारले केही खुकुलो बनाएको हो ।

वेष्टर्न अष्ट्रेलियाले क्वीन्सल्याण्ड, तास्मानिया, साउथ अष्ट्रेलिया र नर्दन टेरेटोरीका बासिन्दाहरुलाई प्रवेश दिने नीति लिएको छ । यसको अर्थ हुन्छ जीटुजी पास लिएपछि क्वारेन्टीन बस्नु पर्दैन । अष्ट्रेलियन क्यापिटल टेरेटोरीलाई वेष्टर्न अष्ट्रेलियाले मिडियम रिस्क जोन तोकेको छ । जसको अर्थ हुन्छ त्यहाँ जानेहरुले पूर्वस्वीकृति लिएर जानुपर्नेछ र १४ दिनको क्वारेन्टीन बस्नुपर्नेछ । न्यूसाउथवेल्सबाट जानेहरुलाई पनि यस्तै व्यवस्था छ तर प्रवेशको ग्यारेन्टी भने हुने छैन । यदि क्वारेन्टीन बस्ने ठाउँको बन्दोबस्त हुन नसकेको अवस्थामा प्रवेशमा रोक लगाउने सकिनेछ । भिक्टोरियाबाट वेष्टर्न अष्ट्रेलिया जानेहरुलाई निकै संवेदनशील रुपमा लिँदै सरकारले तोकेको ठाउँमा क्वारेन्टीन बस्नुपर्ने नियम बनाइएको छ ।

यता साउथ अष्ट्रेलियाले अष्ट्रेलियन क्यापिटल टेरेटोरी, न्यूसाउथवेल्स र भिक्टोरियाका बासिन्दालाई अति जरुरी कारण बाहेक आफ्नो राज्यमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ । यदि स्वीकृति पाएको अवस्थामा १४ दिने क्वारेन्टीन अनिवार्य छ । यस्तै साउथ अष्ट्रेलियाले दुबै डोज खोप लगाएका व्यक्तिहरु नर्दन टेरेटोरीबाट आफ्नो राज्यमा प्रवेश गरेमा नेगेटिभ परीक्षण नतिजा नआउँदासम्म सेल्फ क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाएको छ । क्वन्सल्याण्ड, तास्मानिया र वेष्टर्न अष्ट्रेलियाबाट आउने यात्रीले भने कुनै रोकतोक प्रवेश पाउनेछन् ।

अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा प्रवेश गर्न चाहनेहरु यदि गएको दुई सातामा कुनै जोखिमपूर्ण ठाउँमा गएका छैनन् भने निर्वाध प्रवेश गर्न सक्नेछन् । तर, यहाँ प्रवेश गर्नुभन्दा ७२ घण्टा अघि नै प्रवेशका लागि कारणसहित अनुमति लिनुपर्नेछ ।

तास्मानियाले न्यूसाउथवेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरेटोरीलाई हाई रिस्क एरियामा वर्गिकरण गरेको छ । यसको अर्थ हो यी ठाउँबाट आउने व्यक्तिहरुले पूर्वस्वीकृति लिनुपर्नेछ । यदि अत्यावश्यक लागेमा स्वीकृति प्राप्त हुनेछ तर ७२ घण्टाअघिको कोरोना नेगेटिभ रिपोर्टका साथ प्रवेश गर्नुपर्नेछ । यसमा पनि १४ दिने क्वारेन्टीन पनि बस्नुपर्ने प्रावधान राखिएको छ । तर, क्वीन्सल्याण्डबाट आउने व्यक्तिहरुले भने सहजै प्रवेश पाउनेछन् ।

नर्दन टेरेटोरीले आफ्नो राज्यका बासिन्दा न्यूसाउथवेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरेटोरीबाट घर फर्किदै गरेका हुन् भने मात्र प्रवेश दिनेछ । त्यस बाहेक अन्यलाई यी तीन राज्यबाट प्रवेशमा रोक लगाइएको छ । तर, बाँकी अन्य राज्यका बासिन्दाहरुले भने नर्दन टेरेटोरीमा प्रवेश गर्न पाउनेछन् । यी राज्यहरुबाट पनि गएको दुई सातामा कोरोनाको जोखिमयुक्त क्षेत्रमा भ्रमण गरेकाहरुले भने प्रवेश पाउने छैनन ।