आईएफआरसीका महासचिव चापागाईं नेपालमा

आईएफआरसीका महासचिव चापागाईं नेपालमा


काठमाडौँ रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव जगन्नाथ चापागाईं चारदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई आईएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गरे ।

सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेशल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रुपमा महासचिव पदमा चयन गरेको थियो । सन् २०२० फेब्रुअरी १ देखि आईएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गरेका थिए । आईएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुन् ।

महासचिव चापागाइँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापि सहयोग निरन्तर जारी रहेको बताए । “विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटासन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ”, उनले भने ।

आईएफआरसी मानवीय सेवाका क्षेत्रमा कार्यरत सर्वोच्च परोपकारी संस्था हो ।