काठमाडौँ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन्। उनले केहीबेर अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतले स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका मन्त्री लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो।
लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ।
प्रतिक्रिया