संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन


काठमाडौँ ।

संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५ः०० बजे निधन भएको डा. किरण नकर्मीले जानकारी दिए । डा. नकर्मीले भने, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८० प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’

नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो ।

आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुगेकी थिइन्। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।