नलेजको ओर्जिनल श्रोत मानवका इन्द्रियहरु हुन् : अध्यक्ष ओली

नलेजको ओर्जिनल श्रोत मानवका इन्द्रियहरु हुन् : अध्यक्ष ओली


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताएका छन्।

आईतवार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताए। उनले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गउकोप्रति चिन्ता व्यक्त गरे। उनले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बतए।

उनले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभइ कर्तव्यका रुपमा पूरा गर्न आग्रह गरे।

उनले भने, ‘हामी बिस्तारै बिस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो। मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो। हिसाव गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौँ। परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले। तर नलेजको ओर्जिनल श्रोत मानवका इन्द्रियहरु नै हुन्। मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरौँ, अत्याधिक रुपमा तर उपचार पद्धतिमात्रै होइन जीवनपद्धतिकै रुपमा प्रयोग गरौँ। हामीले उपचारको कुरा ड्युटी झैँ होइन कर्तव्य झै गरेर पूरा गरौँ, यी दुई फरक कुराहरु हुन्।’

अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविकदेन भएको बताए। उनले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको जिकिर गरे। अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताए। उनले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताए।