मेलबर्न अष्ट्रेलिया ।
अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार ५४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ ।
सङ्घीय सरकारले शनिबार आममाफी कार्यक्रममा पहिलो वार्षिक प्रतिवेदन जारी गर्दै ती हतियार नागरिकले सरकारलाई बुझाएका बताएको हो ।
नरसंहारका घटना रोक्ने तथा नागरिक सुरक्षालाई सुदृढ तुल्याउने उद्देश्यले सन् २०२१ को मध्यमा आममाफीको घोषणा गरिएको थियो । बितेका एक वर्षमा ती हतियार सरकारलाई बुझाइएको प्रतिवेदनमा जनाइएको छ ।
आपराधिक गुप्तचर आयोगका अनुसार अस्ट्रेलियामा करिब दुई लाख ६० हजार अवैध हतियार छन् । जुलाई २०२१ देखि जुन २०२२ सम्म हस्तान्तरण गरिएका हतियारमध्ये आठ हजार १४० थान राइफल, दुई हजार ८९६ थान बन्दुक र ७८९ थान पेस्तोल छन् ।
यसैबीच, अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले समुदायमा फैलिने हतियार त्रास घटाउन तथा आफ्ना नागरिकलाई सुरक्षित राख्न हतियार हस्तान्तरणको योजना प्रभावकारी भएको बताएका छन् ।
प्रतिक्रिया