काठमाडौँ ।
गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री धेरै भएर राज्यलाई भार नपरेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले चार–चार जना उपप्रधानमन्त्री किन आवश्यक पर्यो भन्ने प्रश्नमा उनले उपप्रधानमन्त्रीले राज्यलाई खास भार नपारेको र यदि पारेको भए हटाइदिँदा आफूलाई आपत्ति नहुने जवाफ दिएका हुन्।
सञ्चारकर्मीले विज्ञप्ति नै निकाल्नुपर्ने आवश्यकता किन पर्यो भनेर राखेको अर्काे जिज्ञासामा मन्त्री लामिछानेले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने प्रक्रिया चल्दै छ भनेर जानकारी दिन विज्ञप्ति निकालेको बताएका हुन्।
कोइरीका सन्दर्भका निकालिएको विज्ञप्तिलाई सबैले आ–आफ्नो ढङ्गले व्याख्या गरिरहेको र व्याख्या आफ्नो नियन्त्रणबाहिर रहेको उनको भनाइ छ।
शनिवारकै संसद बैठकमा काँग्रेस सांसद रामहरि खतिवडाले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।
संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रदर्शन गरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए।
प्रतिक्रिया