इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित


काठमाडौँ ।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी राना रास्वपाकी समानुपातिक सांसद हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। पहिलो प्रस्तावमै राना उपसभामुखमा निर्वाचित भएपछि यादवको प्रस्ताव भने निर्णयार्थ पेश भएन।